धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एक कोरोना सङ्क्रमितको आन्द्राको जटिल किसिमको शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।

कल्याणपुर सिराहाका ४० वर्षीय पुरुषको आज बिहान २ः३० बजे आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।

बिरामीको पेट फुलेर ज्यादै दुख्नुका साथै जोरो, खोकी, वान्ता, श्वासप्रश्वासको समस्या देखा परी कर्जाना, सिराहाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको निम्ति जाँदा त्यहाँ पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिए पछि थप उपचारका लागि वैशाख २६ गते प्रतिष्ठानको कोभिड अस्पतालमा रेफर भई भर्ना भएको प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले जनाएका छन् ।

कोभिड अस्पतालमा थप जाचहरु गर्दा उनको सानो आन्द्रामा छिन्द्रा देखा परेको र पेटमा सङ्क्रमण फैलिएको हुँदा जेनेरल सर्जरी विभागका डा. निर्मल प्रसाद शाहको नेतृत्वमा आकस्मिक शल्यक्रिया गरिएको सह प्रवक्ता डा. पोखरेलले बताएका छन् ।

सर्जरी विभागका डा. विजय श्रेष्ठ, डा. संदिप खनाल, डा. सुनिल जैसवाल, डा. राजन सुवेदी तथा एनेस्थेसियाका डा. विशाल देव, डा. राजेश प्रजापतीका साथै नर्स सुरभी राई, मनिला मगर, हेल्पर सरोज कार्कीको टिमले सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

कोरोनाको दोस्रो लहर सुरु भएयता पुर्णरुपमा बेहोस पारी कोभिड अस्पतालको शल्यक्रिया कक्षमा शल्यक्रिया भएको यो नै पहिलो हो ।

कोभिड अस्पतालमा कोरोना सङ्क्रमित पाँच जना बिरामीहरूको शल्यक्रिया कोभिड १९ को पहिलो लहरको बेला पनि भएको थियो । सो शल्यक्रिया गाइने विभागका डाक्टरहरूबाट गरिएको थियो ।

डा. मनोज शाहको नेतृत्वमा दुई वटा, डा. दीप्ति दासको नेतृत्वमा दुई वटा तथा डा. दिपा शाहको नेतृत्वमा एउटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो ।

यस्तै, डा. सूर्य प्रसाद रिमालको नेतृत्वमा दुई जना कोरोना पोजेटिभ महिलाको नर्मल डेलिभरी गरिएको प्रतिष्ठानले जनाएको छ ।