धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अविश्वास गर्नुपर्ने कारण नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको प्रस्ताव राख्ने क्रममा प्रधानमन्त्री ओलीले संविधानको स्वीकार्यता, हिंसामा लागेकालाई शान्तिपूर्ण बाटोमा ल्याएका लगायतका कुरा राख्दै सरकारलाई अविश्वास गर्नुपर्ने कारण नभएको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको सवालमा अहिले प्रश्न उठ्ने ठाउँ नरहेको दाबी गरे । उनले देशलाई अगाडि बढाउन औचित्यपूर्ण समयानुकूल ढङ्गले संविधान संशोधन गर्न सकिने भन्दै त्यसका लागि सरकार सबैसँग छलफल गर्न, मस्यौदा बनाउने सन्दर्भमा सुझावका लागि एउटा कार्यदल पनि बनाउन सकिने जिकिर गरे ।

ओलीले पुराना अपराधका दोषीलाई कारबाही गरिएको भन्दै  सरकारलाई विश्वासको मत दिन आग्रह गरे। त्यस्तै उनले केही योजनामा सफलता मिल्न ढिलाइ हुँदा बढाइचढाइ गरेर सरकारको विरुद्धमा प्रचार गरिएको दुखेसो गरे ।

प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौँ ल्याउने काम गरेकोदेखि धरहरा, रानीपोखरी र वसन्तपुरको निर्माण सकिएको बताए। संसद् पुनः स्थापना भइसकेपछि आफूमाथि कसैले पनि अविश्वास नगरेको ओलीको भनाइ थियो । ओलीले पार्टी विभाजन भए पनि लामो समयसम्म माओवादीले विश्वास गरिरहेको भन्दै आगामी दिनमा पनि विश्वास गर्न आग्रह गरे।

त्यस्तै उनले  कोरोना नियन्त्रण गर्ने अभियानमा एक जुट भई रोगलाई पराजित गर्ने उत्तरदायित्व वहन गर्न सबैसँग आग्रह गरे । यति बेला सबै कोरोनाविरुद्धका लडाइँमा पक्ष र विपक्ष  नभई सिद्धान्त र विचारलाई छाडेर भिन्नतालाई थाती राखेर एक जुट हुनुपर्ने औँल्याए।

सरकार कोभिड र विकासका विषयमा केन्द्रित खोज्दा पनि सरकारले अनेकाँ लाञ्छना र आरोप खेप्नु परेको बताउँदै उहाँले औषधि खरिदका नाममा भ्रष्टाचार गरियो भनी  प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएकामा आपत्ति जनाए ।

औषधि खरिदमा भ्रष्टाचार भएको पाइएमा सरकार छानबिन गरी जस्तोसुकै कारबाही गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणलाई केन्द्रित गरेर नयाँ नयाँ अस्पताल र शय्या तयार गर्ने काम भइरहेको बताए ।