धरान : प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले आफ्नो गल्ती अरूमा थोपर्ने काम गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने प्रस्ताव राखेपछि बोल्दै देउवाले वर्तमान सरकारले धेरै गल्ती गरेको र दोष अरूमा थोपर्ने काम गरेको आरोप लगाए । प्रधानमन्त्री ओलीले संविधान व्यवस्था समाप्त गर्न लागेकोले प्रमुख प्रतिपक्ष काँग्रेसले विश्वास दिन नसकेको उनले बताए।

प्रधानमन्त्री ओली आफैले उत्पन्न गरेको परिस्थितिका कारण अहिले विश्वास माग्न आउनुपरेको भन्दै देउवाको भनाइ थियो । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आत्मसमिक्षा गर्न सुझाव पनि दिए ।

सभापति देउवाले कार्यकारीको भूमिकामा रहेका प्रधानमन्त्रीले देश र जनताको हितमा काम गर्न कसले र कहाँ रोक्यो भन्दै प्रश्न पनि गरे ।

उनले कोरोना सङ्क्रमितले अक्सिजन नपाएर जनताको अनाहकमा ज्यान गइरहेको र सरकार मूकदर्शक बनको आरोप लगाए ।

देउवाले कोभिड महामारीमा समेत कमिसन र भ्रष्टाचारमा सरकार लिप्त भएको भन्दै यस्तो अक्षम्य अपराधको जनताले जवाफ दिने धारणा राखे ।

प्रधानमन्त्री ओलीको वक्तव्य आत्मरति र आत्मप्रशंसामा केन्द्रित रहेको भन्दै देउवाले सरकारका असफलताको इतिहासले मूल्याङ्कन गर्ने बताए।