इटहरी : लकडाउनका वेला बजार नपाएर पीडित वनेका कृषकको समस्यालाई इटहरी उपमहानगरले सहजीकरण गरेको छ ।

उपप्रमुख लक्ष्मी गौतमले पीडित कृषक र थोक विक्रेताहरू सँग छलफल गरेर सहजीकरण गरेका हुन् । छलफल पछि सब्जी होलसेल व्यापारीहरूले बारीमै गएर सब्जी उठाउने भएका छन् ।

क्विन्टल भन्दा माथि भए कृषकको बारीमै गएर उठाउने र त्यो भन्दा थोरै भए कृषकले पसलमा ल्याइदिने गरी समन्वय गरिएको उपप्रमुख गौतमले जानकारी दिए ।

लकडाउनका कारण उत्पादित सब्जी बजार सम्म पुर्‍याउन नसक्दा कुहिएर कृषकहरू पीडित वनेका थिए । कृषकको गुनासो पछि उपप्रमुख गौतमले कृषकको बारीमै पुगेर अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा आफूले किसानहरू निक्कै पीडित भएको पाएकाले समन्वय गरेको उपप्रमुख गौतमले बताइन् । भारत देखि तरकारी आयात भइरहेको तर आफ्नै ठाउँमा उत्पादित तरकारी कुहिएर जानु हुँदैन भन्ने अभिप्रायले थोक विक्रेताहरू सँग समन्वय गर्दा उहाँहरू सकारात्मक पाएको उपप्रमुख गौतमले बताइन ।

लकडाउनको वेला पाकेको तरकारी बालिले बजार पाउने भएपछि कृषकहरू खुसी भएका छन् ।