धरान : कोरोना भाइरसले नेपालीहरूको जनजीवनमा कस्तो असर पारेको छ भन्ने कुराको एउटा पछिल्लो उदाहरण बनेका छन्, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ।

राज्यको उच्च तहमा पुगिसकेका, राजनीतिक शीर्ष नेता भित्र पर्ने श्रेष्ठले समेत कोरोनाबाट सङ्क्रमित आफ्नो बुहारीलाई उपचार गराउन नसकेर मृत्यु भएको कुरा सार्वजनिक गरेका छन् ।

राजनीतिक तथा प्रशासनिक हिसाबले सहज पँहुच भएका नेता श्रेष्ठले समेत सिकिस्त बिरामीका लागि अस्पतालमा बेड नै नपाएको, आइसियु र भेन्टिलेटर त परको कुरा हो भन्ने अनुभूति सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखे, ‘प्रिय बुहारी निर्मला वैद्यको कोभिडका कारण आज भएको दु:ख निधनबाट मर्माहत भएको छु । केही दिन देखि नै अस्पतालहरुको ढोका ढक्ढक्याउदा सुरुमा इमर्जेन्सी र अक्सिजन सहितको बेड समेत पाइएन, आइसियु र भेन्टिलेटर त परको कुरा । पछि एउटा साधारण प्राइभेट अस्पतालमा भर्ना गरेर आइसियु खोज्न लाग्यौँ।केही दिन पछि हिजो मात्र बल्ल ट्रमा सेन्टरको आइसियुमा राख्न सक्यौँ । तर तिमिलाई बचाउन सकिएन बुहारी 'हार्दिक श्रद्धाञ्जली' ।

नेता श्रेष्ठले आफ्ना भतिज समेत कोरोनाबाट सङ्क्रमित रहेको र उनलाई पनि आइसियु नपाइएको उल्लेख गरेका छन् । ‘निर्मलाको श्रीमान्, राजनीतिक एवं सामाजिक व्यक्तित्व, भतिजो विकल श्रेष्ठ आफै पनि कोभिडका कारण अस्पतालमा उपचाररत छन् ।

'उनलाई पनि आइसियु चाहिएको अवस्थामा कहाँ पाइने हो, ठेगान छैन । विकलको स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त सबै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’