धरान : प्रहरीले बालविवाहको आरोपमा विवाह मण्डपबाटै बेहुला सहित दुई जनालाई पक्राउ गरेको छ। 

सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार पक्राउ पर्नेमा २६ वर्षीय बेहुला मिथिलेश पाल र बाल विवाह गराउने बेहुलाको सानो बुबा पर्ने  देवानगंज-५ बस्ने फूलचन पाललाई प्रहरीले पक्राउ गरेको हो।

गत २७ गते राती ९ बजे सुनसरीको हरिनगर गाउँपालिका-४ बस्ने खोखाई पालको घरमा आफ्नै छोरा मिथिलेश र देवानगञ्ज गाउँपालिका-१ बस्ने रमानन्द पालकी छोरी १८  वर्षीय ८ महिना १० दिनकी कल्पना कुमारी पाल सँग विवाहको सूचनाको आधारमा प्रहरी टोलीले बाल विवाह रोकेर विवाह गर्ने गराउने दुबैलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुबैलाई सुनसरी जिल्ला अदालतबाट मुद्दा दर्ता गराई आवश्यक अनुसन्धान भइरहेको थापाले बताए।

थापाले भने 'नेपालको कानुनमा २० वर्ष पुरा उमेर पुगेर मात्र विवाह गर्न पाइन्छ यदि कहीँ बालविवाह हुँदै छ भने प्रहरीलाई जानकारी गर्नुहोस् कारबाही हुन्छ।'