धरान : प्रेस चौतारी नेपाल सुनसरीले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई ध्यानाकर्षण पत्र बुझाउँदै सङ्कटको समयमा पत्रकार महासङ्घ सुनसरीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ ।

‘सङ्कटसँग जुधिरहेका सञ्चारकर्मी र सञ्चार संस्थाहरूको राहतकोलागी आवश्यक कार्यक्रम ल्याउन नसकेकोले सञ्चार जगतको भूमिका समेत खुम्चिने अवस्था आएको’ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

महामारीको समयमा पत्रकारहरूलाई घरबाटै काम गर्ने वातावरण बनाउन भूमिका खेल्न, पारिश्रमिक नपाएका पत्रकार तथा सञ्चार गृहबाट निकालिएका पत्रकारहरूलाई आवश्यक सहयोग गर्न र सङ्कटको समयमा तत्काल प्रभावकारी कदम चाल्न महासङ्घको ध्यानाकर्षण गराएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषी राईले जिल्लाका सञ्चार संस्था र सञ्चारकर्मीको अभिलेख राख्ने काम गरिरहेको भन्दै तत् पश्चात् कार्यक्रम ल्याउने आश्वासन दिए ।

फेलोसिप कार्यक्रम  र स्थानीय मिडियालाई समानुपातिक विज्ञापनको माग 

कोभिड-१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सूचना सङ्कलनमा सहयोग पुर्‍याउन प्रेस चौतारी नेपाल सुनसरीले स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।

प्रेस चौतारी नेपाल सुनसरी जिल्ला कार्य समितिले मंगलबार जिल्लाका १२ वटै स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकारलाई फिल्डमा काम गर्नका लागी स्वास्थ्य सुरक्षा तथा सूचना सङ्कलनमा सहयोग पुर्‍याउन आग्रह गरेको छ ।

स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै फेलोसिप कार्यक्रम ल्याउन, स्थानीय मिडियालाई समानुपातिक रूपमा विज्ञापन उपलब्ध गराउन, रिपोर्टिङ गर्न फिल्डमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन साथै समन्वय गर्न आग्रह गरेको छ ।

mahasang-fellowshi-mag

प्रेस चौतारी नेपाल एक नं. प्रदेश सदस्य सन्तोष काफ्ले, पत्रकार महासङ्घ कतार शाखाका कार्यसमिति सदस्य खेमराज सुवेदी, प्रेस चौतारी नेपाल सुनसरी सदस्य तथा धरान इन्चार्ज दामोदर गुरागाईँ लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

जिल्लाका धरान, इटहरी, बराहक्षेत्र, इनरुवा लगायतका स्थानीय तहका प्रमुखहरूलाई ज्ञापन पत्र बुझाइएको प्रेस चौतारी सुनसरीका अध्यक्ष शेखर ढकालले जानकारी दिए । ज्ञापन पत्र बुझ्दै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रेस चौतारीले ध्यानाकर्षण गराएको विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिए ।

मेयर राईले भने 'चौतारीले राखेको माग प्रति सकारात्मक हुँदै तत्काल हामी छलफल गरेर स्वास्थ्य सामाग्री उपलब्ध गराउने, फेलोसिपकालागी पत्रकार महासङ्घसँग समन्वय गर्ने तथा समानुपातिक विज्ञापनका विषयमा के गर्न सकिन्छ छलफल गरेर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’