धरान : प्रदेश १ मा मंगलबार भएको छुट्टा छुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ ।

खोटाङ जन्तेढुंगा गाउँपालिका ५ घोर्ले स्थित तारे भिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको छ ।

उनको उपचारको लागी धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमानै मृत्यु भएको हो । उक्त दुर्घटनाबाट घाइते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ वर्षीय जीवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ वर्षीय मणिराम राई, सोही स्थानका ६५ वर्षीय रत्न बहादुर राई रहेका छन् ।

घाइते मध्ये मणिराम राईको अवस्था सामान्य रहेकोले स्थानीय स्वास्थ्य केन्द्रमानै उपचार भइरहेको र बाकीलाई धरान ल्याइएको छ । मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा लु.१ स. ०३५० नम्बरको अटो टेम्पु तारे भिरबाट अन्दाजी ५०० मिटर तल खसेको हो ।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली खटी गई घाइतेहरूलाई उद्धार गरी उपचारको लागी धरान पठाइएको हो ।

यस्तै मोरङको रंगेली ५ आँपगाछी का रमेश मण्डलको धान खेतमा बोरिङको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा १ जना महिला मृत अवस्थामा फेला परेको छ ।

मंगलबार बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय रंगेलीमा खबर प्राप्त भए पश्चात् प्रहरी टोली खटिगई बुझ्दा सोही स्थान बस्ने ५५ वर्षीय पारु देवी ऋषिदेव रहेको खुलेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यस्तैओखलढुङगा मोलुङ गाउँपालिका ५ लिप्सु का ६५ वर्षीय युवराज नेपालको घाँस काट्न गएको अवस्थामा लडेर मृत्यु भएको छ ।

मंगलबार बिहान ६ बजे उनी घरबाट गढी जङ्गलमा घाँस काट्न गएकोमा अबेर सम्म पनि घर फर्की नआए पछि परिवारले खोजतलास गर्दै जाँदा बाटो देखी अन्दाजी २५ मिटर तर लडी घाइते अवस्थामा फेला पारेका थिए ।

घाइतेको घरमा ल्याई उपचारको लागी लैजाने तयारी गर्दै मंगलबार दिउसो ३ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटी गई बुझ्ने कार्य भइरहेको छ ।

यसै गरी इलामको इलाम नगरपालिका ११ बस्ने ८० वर्षीय वृद्ध गन्जमान खातीको पानी खान जाने क्रममा लडेर मृत्यु भएको छ ।

मंगलबार दिनको २ बजे उनी घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको जानकारी प्रहरीलाई गराउन साथ प्रहरी टोली खटी गई अनुसन्धान भइरहेको छ ।