धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा आज बराहक्षेत्र र इटहरीका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार आज बिहान ६ः३० बजे बराहक्षेत्र-५ का ८२ वर्षीय बृद्धा महिलाको उपचारको क्रममा मृत्यु भएको छ । उनलाई वैशाख १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसै गरी आज नै इटहरी उपमहानगरपालिका-९ का ७६ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. पोखरेलले जानकारी दिएका छन् ।

उनलाई वैशाख २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने २८ गते कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । मृतक दुवैको नियम अनुसार शव व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।