धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एक कोरोना सङ्क्रमित महिलाको जटिल किसिमको शल्यक्रिया र कोरोना सङ्क्रमित महिलाको सफलतापूर्वक प्रसूति गरिएको छ ।

सर्लाहीकी ५० वर्षिया महिलाको वैशाख २८ गते राती १०ः३० बजे आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा.चूडामणि पोखरेलले जानकारी दिएका छन् । उक्त बिरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै उच्च ज्वरो तथा वान्त जस्तो लक्षण देखा परेको थियो ।

उनलाई थप उपचारका लागि राउत डाइग्नेष्टीक सेन्टर जनकपुरबाट प्रतिष्ठानमा रेफर गरिएको थियो । प्रतिष्ठानमा उनको थप जाँच गर्दा आन्द्रामा छिन्द्र परेको फेला परेको थियो । अपरेसनको तैयारी गर्ने क्रममा उनको कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

डा. भवानी खनालको नेतृत्वमा आकस्मिक शल्यक्रिया कोभिड अस्पतालमा गर्ने निर्णय भएको थियो । सर्जरी विभागका डा. देवेन्द्र कार्की, डा. प्रज्वलचन्द्र पौडेल, डा. निरोज रामदाम, डा. राहुल श्रेष्ठ तथा एनेस्थेसिया विभागकी डा. जेनी बज्राचार्य, डा. रुजन बन साथै नर्स आर्य लम्साल, सन्ध्या खनाल, मनिला मगर, हेल्पर नरेन्द्र कार्कीको टिमले सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका थिए ।

कोरोनाको दोस्रो लहर सुरु भएयता पुर्णरुपमा बेहोस पारी कोभिड अस्पतालमा शल्यक्रिया भएको यो दोस्रो हो।

यसका साथै कोभिड अस्पतालमा एक कोरोना सङ्क्रमित महिलाको पनि प्रसूति सफलतापूर्वक सम्पन्न गरिएको छ।

कानेपोखरी, मोरङकी ३४ वर्षिया महिलालाई वैशाख २७ गते प्रतिष्ठानको प्रसूति विभागको आकस्मिक कक्षमा ल्याइएको थियो। ४१औँ हप्ताकी गर्भवती उनलाई अत्यधिक ढाड दुख्ने, छटपटी हुने सँगै १०१ डिग्री सम्म ज्वरो आउने जस्ता लक्षण देखा परेको थियो ।

सोही दिन उनको पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । भोलिपल्ट बेलुका ७ः४५ बजे गाइने विभाग की डा. दीपा शाहको नेतृत्वमा डा. भवानी मैजुसाथै बाल रोग विभागका डा. विकास सापकोटा, नर्स जुना तामाङ लता राजवंशी, हेल्पर अनीश लगायतका टिमले सफलतापूर्वक प्रसूति गराएको प्रतिष्ठानले जनाएको छ ।

बच्चा तथा आमाको स्वास्थ्य स्थिति सामान्य भए पश्चात् आज बेलुका होम आइसोलेसनमा बस्नेगरि डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ।