इटहरी : इटहरी उपमहानगरले अक्सिजन सहित ५० बेडको आइसोलेसन तयार गरेर सञ्चालनमा ल्याएको छ।
आइसोलेसन सेन्टरमा ६ बेडलाई कोभिड अस्पतालको रूपमा समेत तयार गरिएको उपमहानगरले जानकारी दिएको छ ।

इटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीले ३० बेड पुरुषका लागि र २० बेड महिलाका लागि छुट्टा छुट्टै ब्लकमा आइसोलेसन सञ्चालनमा ल्याएको बताए ।

बुधवार बेलुका देखि कोभिड सङ्क्रमित बिरामी राखेर आइसोलेसन सञ्चालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन ।

अक्सिजन नेवुलाइजर सहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी बस्ने उनले बताइन । स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड बमोजिमको गुणस्तरीय खानाको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद सुवेदीले जानकारी दिए ।

इटहरी अस्पतालका मेसु डा योगेश चेम्जोडले आइसोलेसन पूर्ण व्यवस्थित रहेको दाबी गरे । उनले माइल्ड कोभिडका बिरामीलाई राखेर अक्सिजन नेवुलाइजरको सेवा समेत प्राप्त हुने जानकारी दिए ।

बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएमा स्वास्थ्यकर्मी सहित स्टेण्डवाइ रहने एम्बुलेन्स मार्फत अन्य अस्पताल लगिने बताए । इटहरी-९ रङ्गशालामा गत वर्ष पनि आइसोलेसन सञ्चालित थियो ।

आइसोलेसनमा स्नान गृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा छ। आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिने उपमहानगरले जानकारी दिएको छ ।