धरान : धरान उपमहानगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नका लागि एक समिति गठन गरिएको छ ।

बिहीबार धरान उपमहानगरका प्रमुख तिलक राईको अध्यक्षतामा बसेको सर्वदलीय छलफलले धरान-१५ का वडाध्यक्ष नरेश इङ्वारामको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

छलफलमा नगर प्रमुख राईले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न वैकल्पिक स्थानको टुङ्गो नलागेसम्म स्वास्थ्य प्रोटोकल अपनाएर खत्री धारामै दाहसंस्कार गर्न दिन स्थानीयबासीलाई आग्रह गरेका थिए। नगर प्रमुख राईका अनुसार शव व्यवस्थापन गर्दा १० देखि १५ जनासम्म मात्र स्वास्थ्य मापदण्ड अपनाएर मलामी जान पाउने छन् ।

स्थानीयबासीहरुको मागलाई समेत ध्यानमा राखेर वैकल्पिक स्थानको खोजी गर्ने र सो स्थानको खोजी गर्न धरान-१५ का वडाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए ।

उनका अनुसार सदस्यमा सबै राजनीतिक दलको तर्फबाट एक जना प्रतिनिधि, बाँझ गरा सामुदायिक वनका अध्यक्ष, बाल कृषि सामुदायिक वनका एक जना प्रतिनिधि, शिवगंगा र निराजनबस्ती (टिएलओ) प्रतिनिधि र धरान उपमहानगर वातावरण शाखा प्रमुख भेषराज घिमिरे सदस्य सचिव रहेका छन् ।

उक्त समितिले चाँडै वैकल्पिक ठाउँको खोजी गरी पेस गर्ने र वैकल्पिक ठाउँको व्यवस्था नभए सम्म स्वास्थ्यका सम्पूर्ण प्रोटोकलहरू पुरा गरी स्थानीयको मागलाई समेत ध्यानमा राखेर दाहसंस्कार गर्ने व्यवस्था मिलाउने खतिवडाले बताए । साथै हरेक कोरोना सङ्क्रमितको दाहसंस्कार गर्दा टिएलओ को प्रतिनिधि र जनप्रतिनिधिलाई जानकारी गराउने समेत सहमति भएको छ ।

यस्तै झिङ्गु दाहसंस्कार स्थल (खत्री धारा दाहसंस्कार स्थल) व्यवस्थापन समितिमा स्थानीयबासीहरुको पनि प्रतिनिधि रहने अधिकृत खतिवडाले जानकारी दिए ।