विराटनगर : नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले कोरोना सङ्क्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ । 

आजदेखि सञ्चालनमा ल्याइएको कोषमा महासङ्घका सल्लाहकार र कार्यसमितिका तर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ। कोषमा प्रदेश सरकारबाट प्राप्त हुने २ लाख पनि थप गरिने महासङ्घ अध्यक्ष सञ्जीव खनालले बताए।

उनले भने,‘ कोषमा सहयोगका लागि दाताहरूलाई पनि आह्वान गर्दछौँ ।’ कोष सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष खनालको संयोजकत्वमा सल्लाहकार शंकर खरेल, सचिव नेत्र पी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्य रहने गरी समिति गठन गरिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कोरोना सङ्क्रमणमा परेका सञ्चारकर्मीहरूलाई अस्पतालमा भर्ना तथा प्रदेश र स्थानीय सरकारसँगको समन्वयका लागि महासङ्घ अध्यक्ष खनालको संयोजकत्वमा र्‍यापिड रेस्पोन्स टिम’ गठन गरिएको छ।

र्‍यापिड रेस्पोन्स टिममा सल्लाहकार शङ्कर खरेल, उपाध्यक्ष मोहन भट्टराई, तारा आचार्य, सचिव नेत्र पी अधिकारी, कोषाध्यक्ष अभयकुमार राई सहित कार्यसमिति सदस्यहरूलाई आवश्यक सहयोगका लागि जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाइएको छ । 

समाचार सङ्कलन तथा सम्प्रेषणका क्रममा सङ्क्रमित हुने सञ्चारकर्मीहरूलाई तत्काल उपचारको प्रबन्ध मिलाउनका लागि  प्रदेश नं. १ सरकार, स्थानीय सरकारहरूको महासङ्घले ध्यानाकर्षण गराएको छ। 

कोरोना सङ्क्रमण भई आइसोलेसन केन्द्र र होमआईसोलेसनमा रहेका सञ्चारकर्मीको स्वास्थ्य लाभको कामना गर्दै दैनिक स्थलगत समाचार सङ्कलन/सम्प्रेषणमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सावधानी अपनाउँदै र अत्यावश्यक काम बाहेक घरबाटै समाचार सङ्कलन तथा सम्प्रेषणका लागि महासङ्घले आग्रह गरेको छ ।