धरान : इलाका प्रहरी कार्यालय धरानले विभिन्न स्थानबाट २७ थान अक्सिजन सिलिन्डर सङ्कलन गरेका छ। 

धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार धरानका विभिन्न स्थानमा रहेका ग्यारेज, फलाम सम्बन्धी काम हुने फ्याक्ट्रीहरूबाट २७ थान अक्सिजन सिलिन्डर पछि फिर्ता दिने गरी भर्पाई गरेर सङ्कलन गरिएको हो।

सङ्कलन गरिएका अक्सिजनका सिलिन्डरहरू अक्सिजन बिक्री वितरण गर्ने डिपोहरू हिमगंगा ट्रेडर्समा ३ थान र मनकामना अटो ट्रेडर्समा २४ थान अक्सिजन भर्न बुझाइएको डिएसपी बस्नेतले जानकारी दिए।

सङ्कलन गरिएका सिलिन्डरहरू हाल विश्वव्यापी रूपमा फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को दोस्रो चरण (सेकेन्ड वेभ) मा सङ्क्रमण रोकथाम, नियन्त्रण तथा सङ्क्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रूपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीको केन्द्रीय नीति अनुरूप अक्सिजनको सिलिन्डर सङ्कलन गरिएको डिएसपी बस्नेतले बताए ।

उनले भने 'सबै दोकानहरू बन्द रहेका छन् हामी  फोन सम्पर्क गरेर पनि  थप अक्सिजनको सिलिन्डर  खोजी गरी रहेका छौ।' 

विषम परिस्थितिमा अन्य प्रयोजनकालागि सिलिन्डर स्टक नगर्न तथा विभिन्न कम्पनी, सङ्घसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न डिएसपी बस्नेतले अनुरोध गरे ।  

Oxegen-1