धरान : धरानमा पछिल्लो पटक ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने धरान ८ की एक महिलाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार गए राति अबेर आएको रिपोर्ट अनुसार धरानमा पिसिआर परीक्षणबाट ४४ जना र एन्टिजेन टेस्टबाट ३२ जना गरी जम्मा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै धरानमा वैशाख यता कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ सय ८७ पुगेको छ ।

धरानको वडानं. ८ का एक ३४ वर्षीय महिलाको बीपीको कोभिड अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

महाशाखा प्रमुख मेहेताले दिएको जानकारी अनुसार उनलाई केही दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमै बसेकी उनमा थप स्वास्थ्य समस्या देखिए पछि हिजो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा आज बिहान साढे ५ बजे मृत्यु भएको बताइएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।