धरान : धनकुटाको साबिक तेलिया गाविसका पूर्व गाविस अध्यक्ष चन्द्र चोङ्बाङको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

छथर जोरपाटी गाउँपालिकाको वडानं. ४ काजीमानेमा बस्दै आएका पूर्व गाविस अध्यक्ष चोङबाङलाई केही दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आज बिहान निधन भएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष सेरबहादुर लिम्बुले जानकारी दिए ।

चोङवाङ तत्कालीन तेलिया गाविसको २०४९ साल देखि ०५४ सम्म एक कार्यकाल र अर्को २०५४ देखि ०५९ साल सम्म दुई कार्यकाल नेकपा एमालेबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए ।

धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका पछिल्लो समय कोरोना सङ्क्रमणबाट निकै प्रभावित भएको गाउँपालिकाका अध्यक्ष लिम्बुले बताए ।

अहिले सम्म गाउँपालिकामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने पूर्व अध्यक्ष चोङवाङ सहित अर्का एक जना वृद्ध गरी २ जनाको मृत्यु भइसकेको छ । छथर जोरपाटी गाउँपालिकामा अहिले ३ जना सङ्क्रमितको धरान, विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि अध्यक्ष लिम्बुले जानकारी दिए ।