झापा : आज वैशाख शुक्ल पक्षको तृतीया तिथि। आजको दिनलाई हिन्दु धर्मशास्त्रमा अक्षय तृतीयाको रूपमा उल्लेख गरिएको छ। अक्षय अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने ।

आजको दिन गरेको जप, दान, वा पुण्य कर्म धेरै होस् वा थोरै होस्, त्यो सबै अक्षय अर्थात् कहिले पनि नाश नहुने हुन्छ। त्यस कारण आजको दिन पुण्यका कामहरू गर्नुपर्छ भनेर शास्त्रमा लेखिएको छ ।

आजको दिन विशेष रूपमा जौको सातु तथा सर्बत सत्पात्रलाई दान गर्नु भनिएको छ। त्यस कारण आजको दिन जौको सातु र सर्बत बाँड्नु राम्रो मानिन्छ। आजको दिन जौको सातु र सर्बत मन्दिरका आसपासमा वा भिडभाडमा बाँड्ने गरिन्छ। यसरी बाँड्नाले यमराजको भय हुँदैन भन्ने पनि मान्यता रहेको छ । तर यस वर्ष कोरोनाको कारण सर्बत बाँडिएन ।

यसैबिच अक्षय तृतीयाको अवसर पारेर झापाको कमल गाउँपालिकामा रहेको दिब्यम भेनेरेसनले कोभिड सङ्क्रमितहरूलाई आफैले तयार पारेको च्यावनप्रास वितरण गरेको छ ।

४८ प्रकारका जडीबुटीबाट तयार पारिएको दिव्य अवलेह नामक च्यावानप्रास दमकमा रहेका कोभिड उपचार केन्द्रमा लगेर अस्पतालका प्रतिनिधिमार्फत सङ्क्रमितहरूका लागि निःशुल्क वितरण गरिएको दिब्यम भेनेरेसनका सञ्चालक चक्रपाणि गौतमले जानकारी दिए ।

उनले भने, 'अरू समयमा व्यापार गर्ने भए पनि यो समय सहयोग गर्ने समय भएकाले आफूसँग जे छ त्यही सहयोग गरेको हु ।'