चतरा : सुनसरीको बराहक्षेत्र नगरपालिकामा हाल सम्म ६९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ४ जनाको सङ्क्रमणकै कारण मृत्यु समेत भइसकेको छ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पछिल्लो पटक बुधवार बराहक्षेत्र-५ निवासी ८२ वर्षको वृद्ध महिलाको मृत्यु भएको हो । यस अगाडि वराहक्षेत्र-७ कि बुद्ध महिला, १० का बुद्ध पुरुष र ११ नम्बर वडाका एक बुद्ध महिला गरेर ४ जनाको मृत्यु भइसकेको छ।

हालसम्म वराहक्षेत्रका सबै वडामा सङ्क्रमण पुष्टि भएको छ। वार्ड न १ मा दुई जना, वडा नं २ मा आठ जना, वडा नं ३ मा तिन जना, वडा नं ४ मा तिन जना, वडा नं ५ मा पाँच जना, वडा नं ६ मा सात जना, त्यस्तै वडा नं ७ मा सात जना, वडा नं ८ मा सात जना, वडा नं ९ ना चार जना, वडा नं १० मा नौ जना, वडा नं ११ मा पाँच जना र वार्ड नखुलेको आठ जना गरेर ६९ जनालाई कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले बताए।

सक्रमितहरु मध्ये ६ जना अस्पतालमा छन् भने बराहक्षेत्र आइसोलेसनमा १ जना महिला ४ जना पुरुष बसिरहेको आइसोलेसनका प्रमुख प्रमोद यादवले बताए ।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताका अनुसार आइसोलेसनमा बसेका बराहक्षेत्र ११ वडा सङ्क्रमितका परिवार र सङ्क्रमणको सङ्केत भएका ५० जनाको बुधवार स्वाब टेस्ट गरिएको छ।

नगरपालिकाले पहिलो पटक स्वाब सङ्कलन गरेको हो। यस अगाडि सम्म नगरवासीले आफै अस्पताल गएर स्वाब परीक्षण गराउँदा ६९ जनालाई कोभिड देखिएको थियो।

चक्रघट्टीको महेन्द्र मावि र प्रकाशपुरको प्रकाश माविमा १७ जना महिला र ३३ जना पुरुष गरी ५० जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मेहताले बताए। स्वाबको रिपोर्ट शुक्रवार र शनिवार सम्ममा आउने उनले बताए।

स्वास्थ्य शाखाका अनुसार व्यक्तिगत रूपमा आफै निजी अस्पताल पुगेर स्वाब परीक्षण गरी पोजेटिभ देखिएका सङ्क्रमितहरू नगरपालिकालाई जानकारी नगराई होम क्वारेनटाइनमा पनि बसिरहेका हुन सक्ने र नगरसँग रहेको तथ्याङ्क भन्दा धेरै सङ्क्रमित हुन सक्ने मेहताले बताए।