धरान : जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रयोगविहीन अवस्थाका राखिएका अक्सिजन सिलिन्डरहरू सङ्कलन गरेको छ।

धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीका अनुसार धनकुटाका ग्यारेज, फलाम सम्बन्धी काम हुने फ्याक्ट्रीहरूबाट २० थान अक्सिजन सिलिन्डर पछि फिर्ता दिने गरी भर्पाई गरेर सङ्कलन गरिएको हो।

सङ्कलन गरिएका अक्सिजनका सिलिन्डरहरू अक्सिजन कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि जिल्ला अस्पताल धनकुटालाई बुझाएको एसपी अधिकारीले जानकारी दिए।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेको सङ्ख्या अनुसार वितरण गरिएको उनले बताए ।

विश्वव्यापी रूपमा फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड-१९ को सङ्क्रमणले महामारीको चरम रूप लिइरहेको विषम परिस्थितिमा यसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा सङ्क्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रूपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत सक्रियता बढाएको एसपी अधिकारीको भनाई छ ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भइरहेको छ । जथावाभी तवरबाट स्टक गरी प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति वा निकाय उपर प्रचलित ऐन कानुन बमोजिम कारबाही समेत हुन सक्ने उनले बताए ।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, सङ्घसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।