धरान : धरानका मुस्लिम समुदायले महान् पर्व रम दान महिना सकिएको खुसीयालीमा आज इस्लाम धर्मावलम्बी घर घरमा ‘इद–उल–फित्र’ मनाएका छन् ।

इद पर्वको अवसरमा इस्लाम धर्मावलम्बी मस्जिदमा भेला भएर सामूहिक रूपमा मनाउने गर्दछन् । तर्, जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको पूर्ण निषेधाज्ञाको पालना गर्दै धरान ३ स्थितको मस्जिद आज बन्द भयो भने मस्जिदमा सामूहिक भेला नभई घरघरमा नमाज पढेर इद मनाएका हुन् ।

इन्जूमन इस्लामिक धरानका सचिव अफाक अहमदका अनुसार धरानमा ६ हजार बढी इस्लाम धर्मावलम्बी रहेका छन् । यो सबै भन्दा ठुलो पर्व हो भने मुस्लिम समुदायले यो रम दान महिनाभरि कठोर व्रत बस्ने गर्दछन् । एक महिना सम्म लामो व्रत बसेपछि समापनको अवसरमा इद–उल–फित्र पर्व मनाउने गरिन्छ ।

भूगोल अनुसार फरक फरक समयमा इद पर्ने गरेको छ । इदका दिन एक अर्का बिच सद्भाव कायम राख्ने र सत्कर्म गर्ने प्रेरणा प्राप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ । विशेष गरी इस्लामको मुख्य धार्मिक ग्रन्थ कुरानमा सद् विचार र सत्कर्म गर्न प्रेरित गरेको उल्लेख छ ।

यस दिन विशेष परिकार सेवइ, विर्यानी, सेर खोर्मा मिठाइ बनाइन्छ र मेवा मिष्ठान दिँदै एक अर्कालाई शुभकामना आदान-प्रदान पनि गरिन्छ । १ नं प्रदेश सरकारले आज प्रदेश भरी सार्वजनिक बिदा दिएको छ ।