धरान : नेपाल पत्रकार महासंघ सुनसरीले पत्रकारहरुको सुरक्षाको साथमा वृत्ति विकासका विषयलाई लिएर आज धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

जम्मा ६ बुदे मागहरु उल्लेख गरिएको उक्त ध्यानाकर्षण पत्रमा सञ्चारगृहलाई नियमित रुपमा प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापनको भुक्तानी तत्काल गर्ने, फेलोसिप प्रदान, सञ्चारमाध्यम लक्षित विषेश प्याकेज तत्काल घोषणा, तालिम तथा पत्रकार भ्रमण शीर्षकमा छुट्याइएको रकम महासंघ मार्फत पत्रकारको समस्या टार्न उपलब्ध, कोरोना संक्रमणबिरुद्ध अग्रभागमा रहेर महत्वपूर्ण भूमिका खेल्ने श्रमजीवी सञ्चारकर्मीसँगै यस क्षेत्रमा सञ्चालित सञ्चारगृहका निम्ति आगामी आर्थिक वर्षको बजेटमा विषेश प्याकेज घोषणा र पत्रकारका लागी निःशुल्क उपचारको व्यवस्था गरियोस् भनि माग राखिएको छ ।

ध्यानाकर्षण पत्र महासङ्घका अध्यक्ष जनकऋषी राईले मेयर राईलाई हस्तान्तरण गरेका थिए । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख तिलक राईले यस विषयमा उपमहानगरपालिका सकारात्मक रहेकोले चाँडै छलफल गरेर कार्य अघि बढाउने बताएका छन् । उनले कोरोना संक्रमण भएका पत्रकारको उपचारका लागि आइसोलेशन सञ्चालनमा महासंघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

उपमहानगरपालिकाले धरान-१९ हरियाली सामुदायिक वनमा आइसोलेशन बनाउँदैछ । उक्त आइसोलेशनको व्यावस्थापन समितिमा महासंघको तर्फबाट समेत एकजना प्रतिनिधि पठाउन नगर प्रमुख राईले बताएका छन् ।

FNJ-mag-Patra