धरान : कोरोना संक्रमणदर बढ्दै गएकोले सुनसरीमा भोलि देखि थप १५ दिन थपिएको लकडाउन कडा हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार लकडाउनको आदेशलाई उल्लंघन गर्ने व्यक्ति उपर सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महिना सम्म कैद वा १ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने बताएका छन् ।

उनका अनुसार यो ऐन अन्तर्गत काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय सम्म जरिबाना वा दुवै सजाय हुने ढकालले बताए। प्रजिअ ढकालले लकडाउन कार्यान्वयन थप प्रभावकारी परिमाणमुखी हुने दाबी गरेका छन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा पनि पहिलाको सङ्क्रमण भन्दा अहिले सङ्क्रमण अलि फरक भए जस्तो पहिलाको लकडाउन भन्दा अहिलेको लकडाउन पनि पुरै कडाइ हुने बताए । 

थापाले भने 'जेठ १ गते बिहान देखि हामी कार्यालयमा खटिएका जनशक्तिहरूलाई पनि सडकमा खटाउँछौ अब हामी सम्झाई बुझाइ गर्दैनौ सिधा कारबाही गर्छौ । रिजल्ट सडकमा नै देखाउँछौ।'

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको लकडाउनलाई धरानमा पनि कडाइकासाथ कार्यान्वयन गर्ने निर्णय भएको छ ।

शुक्रवार दिउँसो धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जिल्ला प्रशासनले जारी गरेको आदेशमा उल्लेख भएअनुसार बिहान ८ बजेसम्म दूध तथा दूधजन्य पदार्थ बेच्न र हरियो सागसब्जी घर घरमा पुर्‍याउनलाई मात्र छुट दिने निर्णय गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले पनि जेठ १ गते देखिको १५ दिने लकडाउनलाई कडाइ गर्ने जनाएको छ ।इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार धरानमा लकडाउनलाई कार्यान्वयनमा ल्याउनका लागि थप प्रहरी जनशक्ति परिचालन हुनेछ ।

प्रहरीको सम्पूर्ण जनशक्ति परिचालन हुने र लकडाउनलाई कडाइका साथ लागु गर्ने प्रमुख डिएसपी बस्नेतले बताए ।

धरानमा बिहान मर्निङवाक, साँझमा इभिनिङ वाक र अत्यावश्यक काम बाहेक घर बाहिर निस्किनेलाई कारबाही गर्ने धरान प्रहरीले जनाएको छ । धरानका विभिन्न नाकाहरुमा प्रहरी परिचालन हुनेछन् ।