इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख सहरहरूमा सेना परिचालन गरेको छ। जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार सेना परिचालन गरिएको हो ।

कोभिड-१९ का सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक बढेपछि जेठ १५ गतेसम्म सुनसरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै सेना परिचालन गरिएको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले निषेधाज्ञालाई थप व्यवस्थित गर्न र सचेतता फैल्याउन सेना परिचालन गरिएको बताए । उनका अनुसार जिल्ला सदरमुकाम इनरुवा, धरान र इटहरी उपमहानगरपालिका क्षेत्र आसपास सेनाले गस्ती गर्ने र स्थानीयलाई सम्झाउने कार्य गर्नेछ।

यस बिचमा जनपथ र सशस्त्र प्रहरी सडकमा खटिएका छन् । जिल्ला सुरक्षा समन्वय समितिकै मातहतमा रहेको सेनालाई कारबाहीको लागि भन्दा पनि कोभिड विरुद्ध अभियान चलाउन खटाइएको ढकालले जानकारी दिए।

पूर्ण निषेधाज्ञाको समयमा कसैले उल्लङ्घन गरेको सूचना पाए सङ्क्रमण ऐन २०२० अनुसार पक्राउ गरी कारवाही गर्ने प्रहरीलाई निर्देशनसमेत दिइएको उनले बताए ।

यस बिचमा मेडिकल, एम्बुलेन्स र अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ।