इटहरी : कोरोना सङ्क्रमितहरूको सङ्ख्या दिनप्रतिदिन बढी रहेको समयमा सुविधा सम्पन्न भनिएका अस्पतालहरूले समेत अक्सिजन नभएको भन्दै बिरामीहरू भर्ना गर्न नमानी रहेको समयमा निजी क्षेत्रको एसजी ग्रुपले चीनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्री ल्याउने भएको छ।

सङ्क्रमितहरूको उपचारका लागि अत्यावश्यक रहेको अक्सिजन नपाउँदा मानिसहरूले ज्यान गुमाई रहेको तर्फ मध्यनजर गर्दै एसजी ग्रुपले छिमेकी मुलुक चीनबाट अक्सिजन सिलिन्डर, अक्सिजन मास्क, अक्सिजन ब्याग लगायतका सामाग्री ल्याउने भएको हो ।

एसजी ग्रुप नेपालका अध्यक्ष व्यवसायी शिवप्रसाद घिमिरेले अक्सिजनको अभावमा सङ्क्रमितहरूले उपचार सेवा पाउनबाट वञ्चित हुनु नपरोस् भनेर चीनबाट अक्सिजन ल्याउन लागेको जानकारी दिए ।

अध्यक्ष घिमिरेले पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग, ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर हवाई मार्गबाट सोमबारसम्म हवाई मार्गबाट काठमाडौँ आइपुग्ने समेत बताए। उनले मुलुकमा अक्सिजन अभावले मानिसहरूको उपचारमा भयावह अवस्था आइरहेको समयमा मुनाफा नराखी अस्पताल तथा सरोकारवाला पक्षलाई लागत मूल्यमै उपलब्ध गराउने समेत जानकारी दिए।

एसजी ग्रुपले चीनबाट ल्याउने अक्सिजन सिलिन्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिन्डर ४० लिटर क्षमताका २२ सय ५० युनिट जेठ ७ गते सम्ममा स्थल मार्गबाट नेपाल आइपुग्ने समेत जनाइएको छ । एसजी ग्रुपले आवश्यकता अनुसार थप स्वास्थ्य सामाग्रीहरू समेत ल्याउने भएको छ।