धरान : धरान उपमहानगरपालिकामा मात्रै एक महिनाको अवधिमा ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ ।

गतवर्ष कडा लकडाउनका बाबजुद पनि धरानमा ३५ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने ७६ जनाको मृत्यु भएको थियो। २०७६ चैत्र ११ गते देखि ०७७ साउन सम्म जारी लकडाउनमा पनि यत्तिका सङ्ख्यामा धरानमा कोरोना सङ्क्रमित भएका र मृत्यु भएका हुन्।

गत वर्ष देशभर कोरोना सङ्क्रमित देखि सक्दा पनि धरानमा ज्येष्ठ ७ गते धरान-१३ का एक जना महिलामा पहिलो पटक सङ्क्रमण देखिएको थियो । तर यस पटक २०७८ सालको वैशाख १ गते देखि ३१ गते सम्ममा ९ सय २ जना कोरोना सङ्क्रमित भए भने १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भयो ।

पछिल्लो समय नयाँ भेरिएन्टको कोरोना भाइरसको संक्रमणदर उच्च भएको भन्दै सुनसरी प्रशासनले आज देखि जेठ १५ गते सम्म कडा लकडाउन गरेको छ। यो क्रममा धरान, इटहरी, इनरुवा, दुहबी र झुम्का बजार पुर्णरुपमा बन्द रहेका छन् ।

यो १५ दिने कडा लकडाउनले सुनसरीमा कोरोना सङ्क्रमणको चेनव्रेक गर्ने योजना रहेको छ। त्यसैले सर्वसाधारण सबैले लकडाउनको पूर्ण पालना गर्न र गराउन सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताएका छन् ।

सुनसरी प्रशासन सँगै जिल्लाभरका स्थानीय निकायहरूले पनि कोरोना सङ्क्रमण दरको चेनव्रेक गर्नका लागि आ-आफ्नो निकायमा लकडाउन कडाइ गर्ने निर्णय गरेका छन् ।