धरान : धरान-२० विष्णुपादुकामा एक महिलाको मानव कङ्काल फेला परेको छ ।

धरान-२० को विष्णुपादुकामा आज एक महिलाको अस्थिपञ्जर (कङ्काल ) फेला परेको हो ।
उक्त बेवारिसे शव हेर्दा महिलाको जस्तो देखिने धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए। शव जङ्गलको भीरमा थियो भने शरीरका केही भागहरू जनावरहरूले खाइसकेको ओलीले बताए ।

उनका अनुसार शव स्थानीयको नभएको बुझिएको छ । घटनास्थलको मुचुल्का गरी शव पोष्टमाटमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।