धरान : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ हस्पिटल पनि बिरामीले भरिएको छ।

केही दिन यता कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै हस्पिटलमा बेड नपाएपछि अहिले बिरामी अस्पताल बाहिर छटपटिन बाध्य भएका छन् । बेडको अभावका कारण कोरोना सङ्क्रमितको भर्ना हुन सकेको छैन ।

मोरङको सुन्दरहरैचा नगरपालिका वाड नं ५ का भवानी सुवेदी एक हप्ता अगाडि कोरोना सङ्क्रमित भए । होम आइसोलेसनमा रहेका सुवेदीको अक्सिजन लेबल ६५ पुगेपछि बिपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड हस्पिटलमा आज बेलुकी ४ बजे आएका थिए ।

बेड खाली छैन भनी हस्पिटलले कुनै उपचार नगरेको उनले बताएका छन् । बिरामी खुल्ला चौरमा छटपटाई रहेको सङ्क्रमितका भाइ ढेकनाथ अधिकारीले जानकारी दिए ।

उनले भने 'अस्पतालले आधा घण्टामा बेड पाइन्छ भनेर एम्बुलेन्स र अक्सिजन फिर्ता गर्‍यो। कता बुझ्ने ? अस्पतालमा केही थाहा छैन सङ्क्रमित भनेर सबै परपर गर्छन् अस्पतालले एक पटक पनि सोधपुछ नै गरेको छैन।'

प्रतिष्ठानको कोभिड अस्पताल १ सय बेड क्षमताको हो । तर पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढेसँगै हस्पिटलमा बेड फुल भएको जानकारी आफूलाई आएको प्रतिष्ठानका कोभिड फोकल पर्सन डा.विकास शाहले बताए ।

उनका अनुसार सङ्क्रमितहरूको लिस्ट अनुसार बेड खाली हुने बित्तिकै बिरामी अस्पतालमा भर्ना हुने सिस्टम रहेको छ ।