धरान : खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित ४ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बर बहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण बि.क. रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिवार राती १० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक सहितको टोलीले डम्बर, द्रोण र रबिन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगायतका पदार्थहरू सहित नियन्त्रणमा लिएको छ।

बि.क.लाई भरुवा बन्दुकको नाल थान ५, भरुवा बन्दुकको बट थान १ लगायतका भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरू सहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका ४ जना माथि जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।