धरान : चारकोशे जङ्गलमा सडक निमार्ण गर्ने क्रममा धरान ल्याईएको मुख्य पाईप लाइन फेरि फुटेको छ ।

सडक निमार्ण गर्दा धरान खानेपानी संस्थानले सोही बाटो प्रयोग गरी डिप बोरिङ गरेर छेउछेउबाट भूमिगत स्रोत प्रयोग गरी गाडेको खानेपानीको मुख्य पाइप लाइनको पम्पहरू फुटेको खानेपानी बोर्डका अध्यक्ष समेत रहेका धरानका मेयर तिलक राईले जानकारी दिए ।

बाटो निमार्णधिन अवस्थामा रहेकाले पानीपियाको तरहराबाट तीनकुने सम्म एउटा ठेकेदारले कार्य गरेको र धरान तीनकुने देखी सेउती सम्म एउटा ठेकेदारले कार्य काम गर्दै आएका छन् ।

यसअघि ठेकेदारको गैरजिम्मेवारी ढङ्गले निमार्ण कार्य गर्दा धरान खानेपानी आपूर्तिका (ट्रङ्क लाइन ) खानेपानीको मुख्य पाइप फुट्दा धरानमा २ दिन खानेपानी आपूर्तिमा समस्या देखा परेको मेयर राईले बताए ।

सडक निमार्णका प्रमुख इन्जिनियर दिनबन्धु काफ्लेले पानीको पाइप धेरै पुरानो भएकाले कामदारले जोगाउन खोज्दा खोज्दा पनि पानीको मुख्य पाइप कहाँ छ भन्ने भेउ नपाएकाले गए राति सेउती भन्दा तल रुखको जरा निकाल्ने क्रममा पाइप फुटेको बताए।

पानीको पाइप रुख मुनी भएकाले जोगाउन नसकेको बताउँदै काफ्लेले भने 'नियोजित ढङ्गले पानीको पाइप फुटाएको चाही होइन।'

उनले भने 'काम गर्दै जाँदा कहिले काहीँ त्रुटि हुन्छ त्यसैले हामी अबका दिनमा कार्य गर्दा उहाँहरूलाई बोलाएर कार्य गर्छौ । अगामी दिनमा यस्तो समस्या नहोला ।'

खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले खानेपानी आपूर्तिमा समस्या नहोस् भनेर रातको २ बजे सम्म लगाएर फुटेको पाइप मर्मत गरेको जानकारी दिए ।

उनले भने '६ लेन सडकका दुवै ठेकेदारलाई हामीले सडक निमार्ण गर्दा खानेपानीको पाइप जोगाउनका लागी खानेपानी बोर्डलाई जानकारी गराएर मात्र निमार्ण गराउने दुवै ठेकदारबिच सम्झौता भएको छ।'