इटहरी : नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना सङ्क्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका सञ्चारकर्मीहरूलाई घरमै गएर परामर्श दिने भएको छ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका कोरोना सङ्क्रमित सञ्चारकर्मीहरूलाई घरमै गएर डाक्टर, नर्ससहित समुहले निःशुल्क परामर्श दिने भएको हो।

'हाल सुनसरी जिल्लामा झन्डै एक दर्जन सञ्चारकर्मी कोरोना सङ्क्रमित भएका छन् । केही सङ्क्रमितहरू अस्पतालमा उपचाररत छन् भने केही सङ्क्रमितहरू घरमै आइसोलेट भएर बसेका छन्', अधिकारीले भने, 'यस कारण हामीले घरमै आइसोलेट भएर बसेका सङ्क्रमित सञ्चारकर्मीहरूलाई घरमै गएर डाक्टरद्वारा सेवा प्रवाह गर्न लागेका हौँ ।'

उनका अनुसार डा. अमित कुमार खतिवडा मेडिकल र स्टाफ नर्स किरण चौधरीले सङ्क्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श गर्ने र आवश्यक औषधोपचार गर्ने गरी युनियनले तयारी अघि बढाइएको छ ।

घरमै गएर मोबाइल डाक्टर सेवा प्रवाह गर्दा सङ्क्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुने भएकाले कोरोनामुक्त हुन सहज हुने अधिकारीको भनाइ छ। 

युनियनले यसअघि गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीहरूको निःशुल्क कोरोना बिमा गरेको थियो । ती मध्ये ३० जनालाई जनही एकलाखका दरले रकम समेत हस्तान्तरण गरिसकिएको अधिकारीले बताए ।

यस्तै इटहरी-१० मा उद्योग वाणिज्य सङ्घ इटहरीले नेतृत्व गरेर निर्माण गरेको आइसोलेसनमा प्रेस युनियनसहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीहरूलाई अक्सिजनसहितको निःशुल्क सेवा दिने तयारी गरिएको छ।