धरान : धरान-१९ को हरियाली सामुदायिक बन देखि भित्र चारकोशे जङ्गलमा आज फेला परेको मानव कङ्कालको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

सो मानव कङ्काल खोटाङको रुपाकोट मझुवागढी-९ बस्ने ३५ वर्षीय अस्मित राई रहेको उनका आफन्तले दाबी गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

राई अल्कोहलीक बिरामी रहेकोले उनको उपचार धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको थियो । सो क्रममा वैशाख १२ गते अस्पतालबाट कट्टु मात्रै लगाएर भागेका थिए । प्रतिष्ठानका कर्मचारी र बिरामीका आफन्तले समात्न खोज्दा उनी भागेका थिए ।

त्यसको केही दिन पछि चारकोशे जङ्गल नजिकै रहेको ६४ विघेमा पुगेको र स्थानीयले केही खानेकुरा दिएको बताइएको छ । त्यस पछि उनी पुनः चारकोशे जङ्गलमै भागेको स्थानीयवासीले बताएका थिए ।

हराएको निकै दिन पछि जङ्गलमा च्याउ खोज्नेहरूले दुर्गन्ध फैलिएको र मानव कङ्काल देखेर प्रहरीलाई खबर गरेका थिए । सोही अनुसार धरान प्रहरीले आज मानव कङ्काल फेला पारेको थियो ।

बेवारिसे मानव कङ्काल फेला परेको थाहा पाएपछि आफन्तले मृतकको कट्टुको आधारमा पहिचान गरेको प्रहरीले बताएको छ । मानव कङ्काल हरियाली सामुदायिक बन भित्रको चारकोशे जङ्गलमा रहेको तल्लो फायर लाइनको पूर्वपट्टि फेला परेको थियो ।