धरान : सुनसरीको दुहबीमा रहेको फरवार्ड माइक्रोफाइनान्सले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष तथा एमाले नेतृ भगवती चौधरीले आज प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई अक्सिजन सिलिन्डर प्रदान गरेकी हुन् । फरवार्ड माइक्रो फाइनान्सले करिब ५० लाख रकम खर्च गर्ने समेत जानकारी दिइन् ।

चौधरीका अनुसार फाइनान्सका २ लाख ६० हजार सदस्य मध्ये कोभिडको सङ्क्रमणबाट १ सय ९७ जनाको मृत्यु भइसकेको छ । चौधरीले मृतकका परिवारलाई आर्थिक सहयोग लगायत दाङ, महाकाली, विराटनगरका अस्पताललाई समेत अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सट्रेसर सहयोग गरिने जानकारी दिइन् ।

एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज समेत रहेकी चौधरीले कोरोना सङ्क्रमणको दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागी सबै राजनीति दल, नागरिक समाज र व्यवसायी सामाजिक संस्था र पेसाकर्मीलाई एकजुट भएर सहयोग गर्न पनि उनले अनुरोध गरेकी छिन् ।

चौधरीले देशव्यापीरुपमा कोरोनाको खोप लगाउनुपर्ने र सङ्क्रमितलाई आवश्यक स्वास्थ्योपचारको व्यवस्थापन गर्नुपर्ने दायित्व राज्यसँग रहेकोले राज्यलाई गम्भीरतापूर्वक कोरोना महामारीसँग लड्न आग्रह गरिन् ।

यसका साथै नागरिक स्तरबाट पनि राज्यको मात्रै मुख ताकेर कोरोनाको महामारीबाट मुक्ति पाउने अवस्था नरहेको तर्क गरेकी छन् । ‘हामीले पनि आ-आफ्ना क्षेत्रबाट कोरोना सङ्क्रमण नियन्त्रण र उपचारमा सक्दो योगदान गर्नुपर्ने बेला आएको छ ।

स्थानीय तहमा अब हामीले हाम्रा आमाबुबा दाजुभाइ तथा दिदीबहिनीलाई कसरी सुरक्षित गर्न सक्दछौँ त्यसप्रति ध्यान केन्द्रित गर्न गराउन जरुरी छ’ चौधरीले भनेकी छन् ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर शाहले कोभिडको सङ्क्रमणबाट विश्व नै सङ्कटमा परिरहेको समयमा फरवार्डले सहयोग गरेको अक्सिजनले कसैलाई पुर्नजीवन प्रदान गर्न सक्ने बताउँदै फरवार्ड माइक्रोफाइनान्स टिम र चौधरीलाई धन्यवाद समेत दिए ।