धरान : धरान-१ मा तीन दिनको फरकमा एक दम्पतीमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। यो सँगै आइतबार साँझ सम्ममा एकै दिन थप २ जना सहित ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार धरान-१ का एक दम्पतीको तीन दिनको फरकमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

तीन दिन अघि धरान-१ का ४५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । आइतबार उनकै ३७ वर्षीय श्रीमतीको पनि मृत्यु भएको छ।

'शनिवार स्वास्थ्यमा समस्या देखिए पछि धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले एम्बुलेन्स पठाएको थियो। तर उनी अस्पताल जान नमानी होम आइसोलेसनमै बसेकी थिइन्। उनका आइतबार मृत्यु भयो' प्रमुख मेहेताले भने ।

यसैगरी आइतबारनै धरान-६ का एक पुरुष र धरान-१२ का ५७ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य महाशाखालाई जानकारी आएको प्रमुख मेहेताले जानकारी दिए। यो सँगै धरानमा वैशाख यता कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ।

आइतबार धरानमा २३ जना कोरोना सङ्क्रमित थपिए

आइतबार साँझ धरानमा २३ जना कोरोना सङ्क्रमित थपिएका छन्।

पिसिआर परीक्षणबाट ११ जना र एन्टिजेन परीक्षणबाट १२ जना गरी २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यो सँगै धरानमा वैशाख यता कोरोना सङ्क्रमितको सङ्ख्या ९ सय ३३ पुगेको छ।