इटहरी : कोरोना महामारी सँगै जारी निषेधाज्ञाको कारण आम मानिसको दैनिकी प्रभावित भएको छ ।

त्यसमाथि पनि चिकित्सक र सुरक्षाकर्मीले उच्च जोखिममै काम गरी रहेका छन्। त्यससँगै केही जनप्रतिनिधिहरू जोखिमकै बिचमा पनि निरन्तर खटिरहेका छन् ।

त्यसमध्येका एक हुन् इटहरी उपमहानगरपालिका-२० का वडाध्यक्ष मणिराम श्रेष्ठ । सङ्क्रमण सुरु भएदेखीनै निरन्तर कोरोना सङ्क्रमितको घरमै पुगिरहेका छन् उनी । सङ्क्रमितको सङ्ख्या बढेसँगै उनको पनि सक्रियता बढेको छ । परिवारको अवस्थाको बारेमा बुझ्ने र हौसला प्रदान गर्ने काममा लागी परेका छन् श्रेष्ठ । निम्न आय स्तर भएको परिवारमा औषधी र खाद्यान्नको जोहो गर्ने व्यवस्था मिलाएका छन् ।

पछिल्लो समय आइसियुमा भर्ना गर्नुपर्ने बिरामी बढ्दै गएकोले समस्या हुन थालेको श्रेष्ठ सुनाउँछन् । केही सङ्क्रमितको अवस्था सामान्य भए पनि विभिन्न सामाजिक सञ्जाल र समाचारको कारण हतोस्साहीत हुने गरेको उनले बताए । 'प्रत्यक्ष भेटेरै सल्लाह सुझाव दिँदा धेरै फरक पर्दो रहेछ । कतिपय त धेरै खुसी हुन्छन् ।,' उनी भन्छन्, 'बिरामीको अवस्था हेरी समय मिलाएर भेट्ने र सहयोग गर्ने गरेको छु ।'

सुन्दरहरैचा नगरपालिका-३ का वडाध्यक्ष जीवन ढुङ्गाना पनि त्यत्तिकै सक्रिय छन् । बिहानै देखी सङ्क्रमितको घरमा पुग्ने र स्वास्थ्य अवस्था बारे बुझ्ने गर्छन् उनी । धेरैलाई फोन सम्पर्क गरेरै अवस्था अनुसारको व्यवस्था मिलाउन लाग्छन् ।

कतिपय सङ्क्रमितको अवस्था नाजुक भएको बुझेपछि अक्सिजन सहित घरैमा पुग्छन् ढुङ्गाना पनि । आर्थिक अवस्था कमजोर भएका बिरामीको घरमा पौष्टिक आहारको पुर्र्याईरहेका छन् । फलफूल लगायत खाद्यान्नको अभाव हुन नदिन निरन्तर सम्पर्क र समन्वय गरिरहन्छन् उनी।

'सङ्क्रमितलाई अहिले पनि गाउँघरमा दुर्व्यवहार गर्ने गरेको पाइयो । त्यसो हुँदा बिरामीको मनोबल घट्ने र भाइरसले बढी च्याप्ने भएकोले घरैमा पुगेर हौसला दिने गरेको छु ।' उनले भने, 'अहिले सम्म वडा नम्बर ३ मा मात्र ३० जना सङ्क्रमित भएका छन् । उनीहरूको घरमा पुगेर भेट्ने र आवश्यक सामग्रीको व्यवस्थापनमा लागी परेको छु।'