धरान : धरानका मेयर तिलक राईले प्रतिकुल मौसमको समेत प्रवाह नगरी कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा खटिएकालाई धन्यवाद दिएका छन् ।

मेयर राईले आज आफ्नो सामाजिक सञ्जालमा एक सन्देश लेख्दै हिजो (आइतबार) बेलुका ६ बजे देखि रातको साढे १० बजेसम्म प्रतिकुल मौसमको समेत प्रवाह नगरी सङ्क्रमितको शव व्यवस्थापनमा खटिएका नेपाल आर्मी, धरान उपमहानगरका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, नगर प्रहरी प्रमुख विष्णु कोइराला, जेसिभिका प्रोप्राइटर पवन अग्रवाल, शवबाहन चालक भक्तबहादुर रोक्का, जेसिभीका अपरेटर लगायतका टिमलाई धन्यवाद दिएका हुन् ।

साथै मेयर राईले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न धरान उपमहानगरपालिका लागिरहेको पनि जानकारी दिएका छन् । ‘आगामी दिनमा पनि यहाँहरूको यस्तै सहयोग रहने अपेक्षा गरेको छु,’ सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

मेयर राईले कोरोना महामारीको यो दोस्रो लहरबाट जोगिनका लागि आम नगरवासीलाई सचेत र सजग रहन पनि आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा ‘गत वैशाख यता धरानमा कोरोना महामारीको दोस्रो लहरबाट १९ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

यस्तै कोरोना सङ्क्रमितको सङ्ख्या पनि ९ सय ८५ जना पुगेको उल्लेख गरेका छन् । कोरोना सङ्क्रमणबाट निधन भएका नगरवासी प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै, यस भाइरसबाट सङ्क्रमित नगरवासी नागरिकमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।