धरान : लायन्स क्लब अफ धरान सिंहदेवीले खानेपानी र मास्क वितरण गरेको छ । पूर्ण निषेधाज्ञालाई सफल बनाउन घामपानी नभनी खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई क्लबले खानेपानी र मास्क वितरण गरेको हो । क्लबले उनीहरूलाई ५० कार्टुन खानेपानी र ३५० थान मास्क प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को कारण विश्व नै महामारीले आक्रान्त हुँदा नेपाल पनि अति प्रभावित राष्ट्रको रूपमा परेको र देशभर बन्दाबन्दी तथा निषेधाज्ञा जारी भइरहेको अवस्थामा त्यसलाई पूर्ण सफल बनाउन टन्टलापुर घाम तथा बर्सातको समयमा पनि अहोरात्र खटिएका प्रहरीहरूले पिउने पानी समेत समयमा पाउन नसकेको अवस्थालाई मध्यनजर गरी खानेपानी वितरण गरिएको र उनीहरूलाई सङ्क्रमणबाट सुरक्षित राख्न आवश्यक पर्ने मास्क समेत वितरण गरिएको क्लबका अध्यक्ष सुजेन्द्र गोले तामाङले बताए ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत, सुरक्षा बेस धरानका डिएसपी दिनेश बहादुर कटवाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका इन्स्पेक्टर भुवनबाबु खड्काले वर्तमान अवस्थामा प्रहरीलाई पर्न गएको आवश्यकतालाई हृदयङ्गम गरी खानेपानी र मास्क उपलब्ध गराउने क्लबको कार्यलाई उच्च प्रशंसा गर्दै धन्यवाद प्रकट गरेका छन् ।

कार्यक्रममा क्लबका द्धितिय उपाध्यक्ष जयप्रकाश शर्मा, सचिव पञ्चकला राई, कोषाध्यक्ष मनोज अग्रवाल, सहसचिव रमिता श्रेष्ठ, सदस्यहरू गीता पौडेल, रिमला राई लगायतको उपस्थिति रहेको थियो ।

खानेपानी तथा मास्कको व्यवस्थापन गर्न सहयोग गर्नुहुने क्लबका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष तामाङले धन्यवाद दिँदै भविष्यमा समेत क्लबबाट हुने सामाजिक एवम् मानवीय सेवाका लागि निरन्तर सहयोग गर्न आग्रह गरे ।

lions-distribution