धरान : कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचार गर्न धरानको विजयपुर हस्पिटलमा कोभिड अस्पतालको रूपमा २० बेडको आइसोलेसन कक्ष स्थापना गरिने भएको छ ।

बीपीको कोभिड अस्पतालमा सङ्क्रमित बिरामीलाई बेड अभाव हुन थाले पछि र कोरोना सङ्क्रमित बिरामीको उपचारलाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले अस्पतालको रुपमा आइसोलेसन बेडको बिस्तार गर्न लागेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।

नेपाल सरकारले १ सय बेड भएको सरकारी वा निजी हस्पिटलको २० वटा बेड आइसोलेसन कक्षकोरुपमा स्थापना गर्न सक्ने निर्णय गरे अनुसार विजयपुर हस्पिटलमा १ सय बेड रहको छ त्यहाँको २० बेड आइसोलेसनको रूपमा ३ दिन भित्रमा सञ्चालनमा आउने गरी स्वास्थ्य महाशाखाको टोली र विजयपुर अस्पतालका सञ्चालक प्रभाव खतिवडा सहित बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पछिल्लो समय धरानका पत्रकार र स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमण देखा पर्न थालेकाले र सबैलाई मध्यनजर गरेर आइसोलेसन बेड बिस्तार गर्ने पत्रकार महासङ्घ सँग पनि निर्णय भएको छ ।