सुनसरी : एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गिरफ्तार भएका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव सोमबार सुनसरी जिल्ला अदालतको आदेशमा कारागार चलान भएका छन् ।

अध्यक्ष यादव विरुद्ध सरकारी वकिल कार्यालयले आइतबार अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएकोमा सोमबार थुनछेक बहसको सुनुवाइको क्रममा थुनामा राख्ने आदेश दिए पछि कारागार चलन भएका हुन।

सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोख्रेलका अनुसार मुद्दा आइतबारै दर्ता गरिए पनि समय अभावका कारण अभियुक्तको बकपत्र गर्न नसकिएकोमा जिल्ला सरकारी वकिल कार्यालयले सोमबार बकपत्र गर्ने काम र बयान सकिए पछि यादव विरुद्धको मुद्दामा थुनछेक बहस भएको हो। त्यसमा थुनामा राखेर मुद्दाको किनारा लगाउने गरी कारागार चलान भएको स्रेस्तेदार पोख्रेलको भनाई छ।

वादी नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायधिवत्ता नारायण रिमालले बहस गरेका थिए भने प्रतिवादी यादवको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ, दीपक काफ्ले, शङ्कर पोखरेल, प्रेम प्रसाद पोखरेल र पञ्चदेव मेहता लगायतकाले वकालत गरेका थिए ।

दुवै पक्षको बहस सुनेपछि यस्तो आदेश दिएको हो। अदालतको ६ नम्बर इजलासका न्यायधिश टिकचन्द्र दाहालको इजलासले मुद्दाको पुर्पक्ष थुनामा राखेर गर्ने आदेश दिएको हो ।

गत वैशाख ८ गते धरानको डुकु होटलमा किशोरीलाई लगी अध्यक्ष यादवले जबरजस्ती करणी गरेको भन्दै पीडित किशोरीकी आमाले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएकी थिइन् ।

पीडितकी आमाले दिएको जाहेरीको आधारमा इप्रका धरानले अध्यक्ष यादवलाई गिरफ्तार गरी जबरजस्ती करणी गरेको आरोपमा पटक पटक म्याद थप गर्दै अनुसन्धान गरेको थियो ।