झापा : झापाको दमक नगरपालिका-५ स्थित हरि ऊँ कोलोनी क्षेत्रमा बस्ने एक महिलाको आज मंगलबार मृत्यु भएको छ।

महिलाको लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले दिएको जानकारी अनुसार ती महिलामा करिब ५ दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

उनको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीलाई खबर गरी सकिएको वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए ।

यस अघि दमकमा दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणका कारण ८ जनाको ज्यान गइसकेको छ।

दमकमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन् । हिजो सोमबार मात्रै दमकमा ७० जना सङ्क्रमित थपिएका थिए।