इटहरी : आफन्तको उपचारको लागी अस्पताल आएका युवाहरूले विराट शिक्षण अस्पतालका चिकित्सक तथा कर्मचारीलाई कुटपिट गरेका छन्। सोमबार साँझ उपचारमा ल्याइएकी मोरङको बुढी गङ्गा गाउँपालिकाकी ७३ वर्षीय गोमादेवी श्रेष्ठको उपचारमा ढिलाइ गरेको भन्दै एक समूहले आक्रमण गरेको हो।

आक्रमणमा संलग्न समूहले अस्पतालका सुरक्षा गार्डसँग पनि विवाद गरेको प्रहरीको भनाइ छ। आकस्मिक कक्षमा छिरेको समूहले दुर्घटनाका गम्भीर घाइतेको उपचारमा रहेका चिकित्सकमाथि आक्रमण गरेको हो । मधुमेहको पुरानै समस्या रहेकी वृद्धलाई स्वास्थ्य उपचारको लागी अस्पताल पुर्‍याइएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार घटनामा संलग्न निश्चल श्रेष्ठ र अनिल श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थालिएको छ ।

रातको समयमा होहल्ला गर्ने र चिकित्सक माथी नै आक्रमण गर्ने माथी कानुनी कारबाही अगाडी बढाइएको उनको भनाई छ। घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै खोजी कार्य तीव्र पारिएको उनले बताए। आफूहरूले डाक्टरलाई बारम्बार भन्दा पनि बेवास्ता डाक्टरले बेवास्ता गरेको युवाहरूको भनाई छ ।

अस्पतालका एक कर्मचारी सुनील देवका अनुसार आकस्मिक कक्षमा छिरेर डाक्टर सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि आक्रमण भएको थियो । कोसी राजमार्गमा भएको दुर्घटनाको बिरामीलाई उपचार गराउँदा केही समय ढिला भएको र त्यही बेला एउटा समूहले लगातार कुटपिट र आक्रमण गरेको उनले बताए ।

सामान्य अवस्थाकी वृद्धको उपचारमा पाँच मिनेट जति ढिलो हुँदा चिकित्सक र स्वास्थ्यकर्मीले आक्रमणको सामना गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । अस्पतालले बिरामीको उपचारमा अहोरात्र खटिनेहरूमाथि आक्रमण गरिएको घटनामा संलग्न सबैलाई कडा कारबाहीको माग गरेको छ ।

आक्रमणबाट डाक्टर रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको देवले जानकारी दिएका छन् । घाइते अवस्थाका दुवै जनाको सोही अस्पतालमै उपचार भइरहेको छ ।