इटहरी : लकडाउनको बेलामा इटहरीको माया घर र निःसहाय बालबालिका आश्रममा इटहरीकी उपमेयर लक्ष्मी गौतमले सब्जी उपलब्ध गराएकी छिन् ।

किन्न जाँउ बाहिर निस्कनै गाह्रो, फेरी सबै बन्द, किन्ने कहाँ ?, समस्या परिरहेको वेला इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सब्जी लिएर आश्रममा पुगेकी हुन् ।

फूल कोपी, बोडी, करेला, भिण्डी, मुला लगायतको सब्जी थोक बिक्रेताहरूबाट जुटाएर माया घर र निःसहाय बालबालिका आश्रम गौतम पुगेकी हुन्। माया घरमा ९९ जना बेवारिसे,असहाय तथा सडक मानवलाई आश्रय दिइएको छ।

माया घरकी सुभद्रा प्याकुरेलले समस्या पर्दा उपमेयरले गर्नुभएको सहयोगका लागि धन्यवाद ज्ञापन गरिन् । निःसहाय बालबालिका आश्रममा ४५ जना अनाथ बालबालिका छन् । गत वर्षको लकडाउनका वेला पनि माया घर र निःसहाय बालबालिका आश्रममा सब्जी सहयोग गरिएको थियो ।