धरान : नेपाली काँग्रेस निकट सुभेच्छुक संस्था स्कुल अफ डेमोक्रेसी धरान नगर समितिले नेपाल पत्रकार महासङ्घ सुनसरीलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

स्कुल अफ डेमोक्रेसी धरान नगर समितिकी अध्यक्ष सुविक्षा राईले नेपाल पत्रकार महासङ्घका अध्यक्ष जनकऋषि राईलाई आज २० हजार रुपैयाँ बराबरको मास्क र स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।

नगर अध्यक्ष सुविक्षा राईले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको महामारीमा अग्रपङ्क्तिमा खटिने पत्रकारहरूलाई महामारीबाट जोगिनका लागि मास्क र स्यानिटाइजर सहयोग गरिएको बताइन् ।

उनका अनुसार २५ सय पोका मास्क र २० लिटर स्यानिटाइजर वितरण गरिएको हो। आवश्यक परेको खण्डमा आगामी दिनमा पनि स्वास्थ्य सामाग्री सहयोग गर्ने उनले बताइन् ।

स्कुल अफ डेमोक्रेसी सुनसरीका अध्यक्ष दोर्ची शेर्पाले यस्तो संवेदनशील अवस्थामा राज्यको चौथौँ अङ्गको रूपमा रहेको पत्रकाहरुले आफ्नो पेसाबाट विचलित नभई सुरक्षित तवरबाट समाचार सूचना प्रवाह गर्न सकुन् भनेर नगर समितिले मास्क र स्यानिटाइजर वितरण गरेको बताए।

पत्रकार महासङ्घका अध्यक्ष जनकऋषि राईले यस्तो विषम परिस्थितिमा महासङ्घलाई मास्क र स्यानिटाइजर सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे।

सुनसरीका धरान, इटहरी, इनरुवा, दुहबी, बराहक्षेत्र, रामधुनी, हरिनगर, कोशी गाउँपालिका लगायतका स्थानमा गएर मास्क, स्यानिटाइजर वितरण गरिने अध्यक्ष राईले बताए ।