धरान : कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा समस्या हुँदै आएको धरानमा मंगलबार देखि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरूको दाहसंस्कार गर्नका लागि वैकल्पिक दाहसंस्कार स्थल सञ्चालनमा आएको छ ।

यस अघि धरान–१४ को खत्रीधारास्थित दाहसँस्कारस्थलमा स्थानीयले सङ्क्रमितको शव जलाउन नदिए पछि वैकल्पिक दाहसँस्कारस्थलको खोजी सुरु भएको थियो । गएको शनिवार धरान–१६ का सङ्क्रमितको शवलाई स्थानीयले जलाउन रोके पछि जङ्गलमा गाड्नु परेको थियो भने धरान–३ का सङ्क्रमितको शव धरान, इटहरी र चतरामा पनि जलाउन नदिए पछि विराटनगरस्थित सिंघिया खोलामा अन्त्येष्टि गरिएको थियो ।

खत्रीधारास्थित दाहसँस्कारस्थल क्षेत्रका स्थानीयबासीहरुसँग गरिएको छलफलले सङ्क्रमितको शव जलाएर अन्त्येष्टि गर्न वैकल्पिक स्थान खोजी गर्ने निर्णय भए पछि विकल्पको खोजी गर्नको लागि धरान–१५ का अध्यक्ष नरेश इङ्वारामको अध्यक्षतामा एक समिति गठन भएको थियो ।

त्यही समितिले धरान–१५ पानवारी जाने पुलको पश्चिम दक्षिण सडक खण्डको सेउती पुल वारी उपयुक्त स्थानमा वैकल्पिक दाहसंस्कार स्थल तयार गरेको हो । दाहसंस्कार स्थलमा आज एक सङ्क्रमितको दाह संस्कार पनि गरिएको समितिका अध्यक्ष नरेश इङ्वारामले बताए । खाली तथा मानवीय बस्ती नभएकाले उक्त घाट कोरोनाका सबै सङ्क्रमितको दाहसंस्कार गर्न उपयुक्त हुने अध्यक्ष इङ्वारामले बताए ।

स्थापना गरिएको दाह संस्कार स्थलमा आज कोरोना सङ्क्रमित धरान–११ का हाल झापाको अर्जुनधारा नगरपालिका झापाका प्रमुख प्रशासकीय अधिकृतको शव अन्त्येष्टि गरिएको छ ।

दाह संस्कार स्थलमा आवश्यक पर्ने पिपिई र बुट धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले उपलब्ध गराएको थियो भने उक्त स्थानमा पानीको समस्या देखिए पछि खानेपानी व्यवस्थापन बोर्डले नयाँ धारा जडान गरेको नेकपा माओवादीका नेता चोत्लुङले बताए ।

यस्तै, धरानका मेयर तिलक राईले इलाका वन कार्यालयलाई शव जलाउनको लागि काठ उपलब्ध गराइदिन पत्राचार पनि गरिसकेका छन् । मेयरले तिलक राईले दाहसंस्कार स्थानको अनुगमन पनि गरेका छन् ।

सेउती मुक्ति घाट नाम दिइएको सो वैकल्पिक दाहसंस्कार स्थलमा २५ जनाको उपस्थितमा परिवारजनले परम्परा अनुसार दाह संस्कार गर्न पाउने स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । मेहताले भने बेवारिसे शव भने सेनाको टोलीले दाहसंस्कार गर्ने छन् ।

दाह संस्कार स्थलमा २ वटा दाहसंस्कार गर्ने ओभन रहेका छन् । अब धरानमा निः शुल्क रूपमा दाहसंस्कार हुने छ । टाढा गएर पैसा तिरेर शव अन्त्येष्टि गर्ने र अवरोध हुने समस्या अब नहुने मेहताले बताए ।