झापा : झापाको गौरादह नगरपालिका । धेरैलाई चासो हुने स्थानीय तह मध्ये एकमा पर्छ यो नगरपालिका। सायदै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएर हो या प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीको गृह नगर भएर हो ।

गौरादह भन्ने बित्तिकै पहिला पहिला यहाँका ऐतिहासिक पोखरी र अन्य कुराहरूले परिचित हुन्थ्यो भने ऐले गौरादह भन्ने बित्तिकै विभिन्न काण्डका कारण परिचित छ ।

यस्तै काण्डहरू मध्येको अहिलेको चर्चित काण्ड हो चामल काण्ड । कोरोना सङ्क्रमणको पहिलो लहर चल्दै गर्दा राहत वितरणको विषय खुब चर्चामा आयो । यही क्रममा गौरादह नगरपालिकामा पनि राहत वितरणका लागि भनेर खाद्यान्न खरिद गरियो, बाँडियो पनि । तर, अहिले स्थानीय सञ्चार माध्यम देखी राष्ट्रिय स्तरका मिडियासम्ममा आएको एउटा खबरले गौरादह बासी स्तब्ध बन्नुपर्ने अवस्था सृजना गरेको छ ।

समाचारको शीर्षकहरू छन्, 'राहत वितरणको चामल गोदाममै कुहियो' । अनि जनप्रतिनिधिका नाइके भनेर चिनिने नगरप्रमुख यस्ता विषयमा कर्मचारीलाई दोष दिएर आफू उम्किने प्रयास गरिरहेका छन् ।
यो विषय बाहिर आएसँगै कपुरी न्यूजले यसको सत्य तथ्य के रहेछ भनी खोजी गर्ने क्रममा मेयरले दोषी देखाएका कर्मचारी नगरपालिकाका स्टोर किपर अर्जुनभाई दाहालसँग टेलिफोन मार्फत कुराकानी गरेको छ ।

गौरादहमा राहतका लागि भनेर खरिद गरिएको चामल कुहिनुमा मेयर स्वयम दोषी रहेको ती कर्मचारीले हामीलाई जानकारी गराएका छन् । दाहालले हामीलाई दिएको जानकारी अनुसार राहतका लागि भनेर गौरादहमा १ लाख ७६ हजार केजी चामल खरिद गरिएको थियो । त्यसमध्ये ५ हजार १ सय केजी चामल भने कुहिएको हामीलाई स्टोर किपर अर्जुनभाई दाहालले जानकारी गराएका छन् ।

यस विषयमा दाहालले मेयर रोहित कुमार शाहकै कारण बाँकी रहेको चामल कुहिएको बताएका छन् । नगर प्रमुख शाहले चामल कुहिनुमा नगरपालिकाका स्टोर किपरको जिम्मा पाएका कर्मचारी अर्जुनभाई दाहाल दोषी रहेको भनी बताएपछि हामीले उनलाई सम्पर्क गर्दा दाहालले पटक पटक चामल बिग्रिन लाग्यो भनेर जानकारी गराए पनि नगरप्रमुख शाहले वास्तै नगरेको गुनासो पोखेका छन् ।

मेयरले पूर्वाग्रही भएर आफूलाई दोषी देखाएको बताउँदै दाहालले भने, “मेयर सापले आफू निकटका लागि राहतका लागि भन्दै चामल बाढ्नुभयो, भोकै परेकालाई दिऊ न भन्दा कर्मचारीको कुरै सुन्नुभएन ।”

काम बिग्रिएपछि कर्मचारीलाई दोषेर नगरप्रमुख शाहले आफू पानी माथिको ओभानो बन्न खोजेको दाहालले गुनासो समेत गरेका छन् । निष्पक्ष छानबिन गरिए नगरप्रमुखको गल्ती स्पष्ट भेटिने उनको दाबी छ ।

आफू निकटका व्यक्तिलाई राहत दिएर नगरप्रमुख शाहले कुहिएको चामलको जिम्मेवारी आफूलाई थुपारेकोप्रति आफू चिन्तित भएको र नागरिकसामु आफ्नो छवि धुमिल्याएको दाहालले आरोप लगाएका छन् ।

यस विषयमा कपुरी न्यूजले केही वडाध्यक्षहरूलाई सम्पर्क गरेर बुझ्दा उनीहरूले मेयरको गल्ती भएको प्रतिक्रिया दिएका छन् । उक्त अडियो कपुरी न्यूजसँग सुरक्षित छ । यस विषयमा कपुरी न्यूजका आगामी समाचारमा थप फलोअप आउने प्रतिबद्धता समेत व्यक्त गर्दैछौं ।

store-kipper-n-nagarpalika

तस्बिरहरू  :गोदाममा कुहिएको चामल, स्टोर किपरको जिम्मा पाएका कर्मचारी अर्जुनभाई दाहाल र नगरपालिका भवन