धरान : नवलपरासीको दाउन्नेमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट-४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।

बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँको माछा पोखरीबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वासुदेव नेपालले जानकारी दिए ।

ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ ।

बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय चिसापानी अस्पताल र सञ्जीवनी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । बसमा सवार पाँच जना सकुशल रहेका छन्।