इटहरी : कोरोना महामारी नियन्त्रणको लागी निषेधाज्ञा जारी छ। सडक बजार सुनसान देखिएका छन् । कोरोना महामारी सँग त्रसित हुने र बेवास्ता गर्ने दुवै समूह बढ्दै गएको छ । जसको कारण कोरोना नियन्त्रण र उपचारमा समस्या देखा पर्न थालेको छ।

यही बिचमा कोरोना सँग भयभीत नहुन र लापरबाही नगर्न आग्रह गर्दै मोरङका युवाहरूले नयाँ अभियान सुरु गरेका छन् । सावधानी नै कोरोनाको उपचार हो भन्ने सन्देश लिएर उनीहरू गाउँका झुपडीसम्म पुगिरहेका छन् । कोरोना के हो र यसबाट कसरी बच्ने भन्नेबारे जानकारी गराउन अभियान सुरु गरेका हुन् ।

नेपाली काँग्रेस जिल्ला सदस्य राजेन्द्र ढकालको संयोजकत्वमा मोरङका युवाहरू परिचालित भएका छन् । सहरमा धेरै मान्छे सचेत भएको तर गाउँमा सङ्क्रमण बढ्न सक्ने बुझेर आफूहरू गाउँ छिरेको उनले बताए ।

'भित्री गाउँका जनतालाई बजार जान नपाइने मात्र जानकारी भएको तर किन हिँडडुल गर्न नहुने भनेर अनभिज्ञ रहेको पाइयो ।,' उनले भने, 'यस्तो अवस्थामा उनीहरू गाउँभरि घुम्ने र सङ्क्रमण फैलीनसक्ने देखीयो । हामीले भौतिक दुरी कायम राख्नुपर्ने र बारम्बार साबुन पानीले हात धुनुपर्ने सिकायौँ । मास्क, सेनीटाइजर र साबुन वितरण गरेर सचेतना जगाइरहेका छौ ।'

बिहान १० बजे भेला भएर सामाजीक दुरी कायम गर्दै उनिहरु अभियानमा जाने गरेका छन् । विगत ७ दिन देखी जारी अभियान अझै केही दिन चल्ने ढकालको भनाई छ । बजार क्षेत्रमा मास्क विहीन भेटिने यात्रुलाई समेत मास्क वितरण गरेर कोरोना बाट बच्ने उपाय सिकाउने गरेको उनले सुनाए।

Sundarharaichha-yuwa

‘से नो टु कोरोना’ अभियान अहिले मोरङ क्षेत्र नम्बर ३ भरी नै चलिरहेको छ । गाउँमा धेरैलाई कोरोना बारे गलत भ्रम पाइएकोले सचेत हुन आग्रह गरिएको बताउँछन् अर्का अभियन्ता अर्जुन गजुरेल । साबुन, मास्क र सेनीटाईजर किन्न नसक्ने स्थानीयलाई कोरोना सँग भन्दा राज्य सँग बढी डर देखिएको उनको भनाई छ ।

अघिल्लो पटकको लकडाउनमा सुरक्षाकर्मी र स्वास्थ्य कर्मीलाई मास्क सेनीटाइजर वितरण गरेर युवाहरू एक भएका हुन् । यस पटक अग्र भागमा काम गर्ने कर्मचारीको सुरक्षा सामग्री खाँचो नभएको बुझेपछि भित्री गाउँमा अभियान चलाइएको उनले सुनाए ।

धेरै जसो जनता फेसबुक लगायत सामाजिक सञ्जालबाट बाहिरै रहेकोले सूचनाको समेत अभाव देखिएको उनको भनाई छ ।