इटहरी : इटहरीमा पुरै बस्ती बिरामी भएको गाउँमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।

इटहरी-३ को सुनौलो टोलमा बिरामी भएकाहरूमा कोरोना सङ्क्रमण देखिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छिन् ।

आफू सहित स्वास्थ्यकर्मीको समूह टोल मै गएर एन्टिजिन परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको उपमेयर गौतमले बताइन् ।

समुदायमा गएर ९ जनाको एन्टिजिन विधिबाट परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गाउँमा कोरोना सङ्क्रमण रहेको पुष्टि भए पछि सुनौलो टोल सिल गरिएको छ ।

त्यहाँ एउटै टोलका २५ जना बिरामी परेका थिए । ७ घर का २५ जनामा ज्वरो, खोकी, पखाला लागेर बिरामी भएका र त्यसमा ९ जनामा परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको हो ।