धरान : धरान ९ पुतली लाइन स्थित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल बिहीबार देखि सञ्चालनमा ल्याउने तयारी भएको छ ।

दैनिक रूपमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि विजयपुर हस्पिटलमा कोभिड अस्पताल बनाउने निर्णय गरिएको हो । देशभरका प्रत्येक अस्पतालहरूलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारले निर्देशन दिएको थियो ।

सोही निर्देशन बमोजिम धरान उपमहानगरपालिकाले विजयपुर अस्पतालमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनका लागि सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय गरिदिने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

यस विषयमा अनौपचारिक रूपमा धरान उपमहानगरपालिका र अस्पतालबिच पटक पटक छलफल भएको थियो । मङ्गलवार धरान उपमहानगरपालिकामा २० बेडको कोभिड आइसोलेसन कक्ष सञ्चालनमा ल्याउनका लागि लिखित रूपमै निर्णय भएको थियो ।

विजयपुर अस्पतालका सञ्चालक प्रभाव खतिवडाले २० बेडको कोभिड अस्पताल बिहीबार देखि सञ्चालनमा ल्याउने जानकारी दिएका छन् ।

सञ्चालक खतिवडाले भने– ‘२० बेडको आइसोलेसनमा ल्याउने तयारी अन्तिम चरणमा छ, अहिले धमाधम काम भइरहेको छ, कोरोना सङ्क्रमित बिरामीहरू पनि स्टेण्ड बाई अवस्थामा छन्, बिहीबारबाट सञ्चालनमा आउनेछ।’