विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकूलतामा बदल्न आवश्यक रहेको बताएकी छिन् ।

कोरोना सङ्क्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरूलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने मन्त्री राईले बताइन् ।

प्रदेश १ का स्थानीय तहका प्रमुख÷उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, स्वास्थ्य कार्यालयका प्रमुखहरू लगायतसँग बुधवार गरिएको भर्चुअल बैठकमा उनले कोरोना सङ्क्रमण सकिएपछि जिल्ला स्तरमा रहेका अस्पतालहरूले स्थानीय नागरिकलाई सेवा दिन सक्नेगरिको बनाउनमा उनले जोड दिइन् ।

मन्त्री राईले भनिन्,‘ जिल्लाका नागरिकले सामान्य उपचारका लागि पनि काठमाण्डौं, विराटनगर धाउनु नपरोस् ।’ उनले जिल्ला स्तरमा व्यवस्थित अस्पतालको आवश्यकता रहेकोमा पनि जोड दिइन् ।

झापा, मोरङ र सुनसरी बाहेकका जिल्लाका नागरिकलाई स्वास्थ्य उपचारमा समस्या रहेको बताइन् । मन्त्री राईले भनिन्,‘ जिल्ला स्तरमा अव हामी व्यवस्थित अस्पताल बनाऔँ ।’

प्रदेश सरकार, स्थानीय सरकार र दातृ निकायसँगको सहकार्यमा काम अघि बढाउन आवश्यक रहेकोमा उनको जोड थियो ।

उनले भनिन्,‘ स्वास्थ्यका लागि योजना बनाएर अघि बढौैं, कोभिडले हामीलाई यो कुरा सिकाएको छ ।’ मन्त्री राईले स्थानीय तहबाट एन्टिजेन, अक्सिजन, स्वास्थ्य सामाग्री लगायतको माग आइरहेकोले आवश्यकताका आधारमा चाडै पठाइने बताइन् ।

उनले स्वास्थ्य कार्यालयहरूलाई कोरोना सङ्क्रमण नियन्त्रणका लागि ५–५ लाखका दरले सबै जिल्लाहरूमा रकम पठाइने तयारी भइरहेको जानकारी दिइन् ।

उनले स्थानीय तह तथा जिल्लामा कोरोना सङ्क्रमण नियन्त्रणका लागि अहोरात्र खट्ने, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीहरू लगायतलाई धन्यवाद पनि दिइन् ।

बैठकमा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, स्वास्थ्य कार्यालयका प्रमुखहरूले कोरोना सङ्क्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।