धरान : प्रदेश १ मा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ का ५८ वर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् ।

नेम्वाङ  बुधवार राती ९ बजेको समयमा निबुखोलाको दोभानमा पानीमा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भए सँगै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी सोलुखुम्बु र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ का २८ वर्षीय सिताराम बस्नेतको स्थानीय उत्तिसे भिरबाट लडेर मृत्यु भएको हो ।

बुधवार दिउँसो गाई बस्तु चराउन गएका केही स्थानीयहरुले बस्नेतलाई भिर मुनी मृत अवस्थामा देखी प्रहरीलाई खबर गरेसँगै इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

यसै गरी उदयपुरको कटारी नगरपालिका–८ मरुवाखानी बस्ने २९ बर्षीया गीता विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ ।

बुधवार साँझ ६ बजेको समयमा मरुवाखानीको जङ्गलमा घाँस काट्ने क्रममा अचानक भिरबाट लड्दा विकको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।

यस्तै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रानीपुल स्थितमा नव निर्मित बेलिब्रिज बनाउने क्रममा १ जना कामदारको मृत्यु भएको छ ।

बुधवार अपराह्न ५ बजेको समयमा काम गरिरहेको अवस्थामा अचानक चिप्लिएर लडेको र सोही क्रममा पुल लगाउन राखिएको फलाम समेतले किच्दा बारा सिमराका २६ वर्षीय श्याम सुन्दर चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।